२०७७ वैशाख १, दाङ । जेसीआई त्रिभुवननगरको आयोजनामा सामाजिक सेवामा अभिप्रेरित भई समग्र युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्ने उद्देश्यका साथ जेसीज सप्ताह वैशाख १ गतेबाट शुरु गरेको छ । सात दिनसम्म चल्ने कार्यक्रमहरुको पहिलो दिनको कार्यक्रम जेसीआई त्रिभुवननगरको सचिवालयमा उद्घाटन तथा शुभकामना आदान प्रदान गरी मनाइएको छ । कार्यक्रमको अध्यक्ष जेसीआई त्रिभुवननगर बर्ष २०२१ का अध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । युवाहरुलाई परिचान तथा एकीकृत गर्ने सन्दर्भमा जेसीजले खेलको भूमिकाको प्रशंसा गर्दे प्रमुख अतिथि चौधरीले उर्जावान युवाहरुको समूह जेसीजले विषम परिस्थितिमा विषम कार्यक्रमहरु सहज तरिकाले सम्पन्न गरिरहेकोमा प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल के.सी., धारपानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारी, पूर्व अध्यक्ष जेसी कुमारराज श्रेष्ठ, दाङ महिला जेसीजकी अध्यक्ष ममता विष्ट र संस्थापक सदस्य लिलाधर पन्थीले सात दिन चल्ने जेसीज सप्ताहको सफलताको शुभकामना व्यक्त गर्दै जेसीजले युवाहरुको क्षेत्रमा गरेको पहलकदमी कार्यहरुका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका बीच प्रमुख अतिथि नरुलाल चौधरी लगायतले बर्ष २०७८ को टेबल क्यालेन्डर लोकार्पण गर्नभएको थियो । कार्यक्रम संयोजक जेसी युवराज पन्त विशेष परिस्थितिले कार्यक्रम स्थलमा सहभागी हुन नसक्नु भएता पनि उहाँको मेहनत र नेतृत्वदायी भूमिकालाई सहभागीहरुले जोडदार तालीका साथ धन्यवाद व्यक्त गर्नुभएको थियो । जेसीआई त्रिभुवननगर बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी कुलबहादुर वलीले सप्ताहको बारेमा जानकारी दिनुभएको कार्यक्रममा आस्थापाठ जेसी योगश पन्त र धन्यवाद मन्तव्य कार्यकारिणी उपाध्यक्ष प्रेमप्रकाश डी.सी.ले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण बर्ष २०२१ क महासचिव जेसी टंक रावत अनन्तले गर्नुभएको थियो ।