देवघाटधाम जेसिजद्वारा योग, ध्यान र अध्यात्म सम्बन्धी प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न

2026-03-14

फाल्गुण ३० ,२०८२

देवघाट, तनहुँ ।

देवघाटधाम जेसीज र जीवन विज्ञान चितवन जिल्ला परिषद्को सह–आयोजनामा योग, ध्यान र अध्यात्म विषयक प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वेद वेदाङ्ग संस्कृत विद्यापीठको सभाहल मा बिहान ७:१५ बजे देखि १०:३० बजे सम्म सञ्चालन गरिएको थियो।

देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन दर्शनको संस्थापक आध्यात्मिक योगी पूर्णानन्दज्यूले प्रमुख प्रशिक्षकको रूपमा योग, ध्यान तथा सकारात्मक जीवनशैली सम्बन्धी प्रयोगात्मक अभ्यास गराउनु भएको थियो। त्यस्तै गलेश्वर आश्रम देवघाटका उपाध्यक्ष डा. स्वामी अमृतानन्द गिरीज्यूले अध्यात्मको महत्त्व र जीवनलाई सन्तुलित बनाउन योग तथा ध्यानको भूमिकाबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रम देवघाटधाम जेसीज वर्ष २०२६ का उपाध्यक्ष जेसी सन्तोष सुवेदीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा देवघाटधाम जेसीजका पूर्व अध्यक्ष जेसी रघु मल्ल लगायत वर्ष २०२६ का बोर्ड पदाधिकारी र सदस्यहरु तथा जीवन विज्ञान चितवन जिल्ला परिषद्, चितवनका करिब ५० जना साधक तथा सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले योग, ध्यान र अध्यात्म सम्बन्धी व्यावहारिक अभ्यासबाट मानसिक शान्ति, सकारात्मक सोच तथा स्वस्थ जीवनशैलीका बारेमा महत्वपूर्ण ज्ञान प्राप्त गरेका थिए। आयोजक देवघाटधाम जेसीजले यस्ता कार्यक्रमहरूले जेसीज परिवार र समुदाय बीच सदैब सहयोग, सहभाव, सहकार्य, प्रेरणा आदानप्रदान गर्दै समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

JCI News Archive